कविता : बाँच्नुको अर्थ

Posted by somdai a lunatic on Apr 22, 2013 | 0 comments



ब्यग्र प्रतिक्षामा बस कुरेको यात्रु
उपचार नपाएर छट्पटिएको विरामी
अनि, पेट थिचेर बसेको भोको बालक ।
कुर्न सक्छौ तिमी ?
कतिसम्म कुर्छौ तिमी ?
कसले तोक्छ तिम्रो समय ?
युवा शक्तिले काम गर्ने बेलामा
शुल्क तिरेर सेवा लिने ठाउँमा
लामो लाइन बसेर
सक्छौ तिमी पेट्रोल लिन ?
सेवा नपाए पनि सक्छौ तिमी
विजुलीको महसुल तिर्न ?
अनि सक्छौ तिमी
बिना पानीको शुल्क तिर्न ?
सक्नुपर्छ तिमीले
नेपाली हौ तिमी
नेपालमै जन्मेका
सतीले सरापेको देशका
मनुष्य हौ तिमी ।
तिमी हिउँले थुप्रिएको
सगरमाथाको मान्छे हौ
यथेष्ट प्रमाण हुँदाहुँदै
बुद्ध आफ्नो देशमा
जन्मिएको भन्न नसक्ने
नेपाली हौ तिमी
आफै समाधान नखोजी
विदेशीको मुख ताक्ने
अनौठो नागरिक है तिमी
नागरिक ?!
कसरी नागरिक ?
तिमी त सजिलै
नागरिकता नपाउने नेपाली ।
अनि के सक्छौ तिमी ?
महानगरपालिकामा जन्मिएर
महानर्कपालिकाको सेवा पाएका तिमी
अन्याय र अत्याचारमा रमाएका तिमी
फोहर, सडेगलेका
र मिति सकिएका खाद्यान्हमा
बानी परेका तिमी
अनि के गर्न सक्छौ तिमी ?
नेताको चिप्लो बोलीमा
लठ्ठ पर्ने तिमी
भाइ भाइ फुटेर
पराइको ईशारामा
नाच्ने तिमी
के गर्न सक्छौ तिमीले ?
अब त झन् तिमीले
ठूलै मूल्य चुकाउन बाँकी छ
सहनुपर्छ छिमेकी राष्ट्रको अपमान तिमीले
तिमीले आफ्नो अस्तित्व खोज्ने हैन
आफ्नो अधिकार खोज्ने हैन
तिमी हिजो पनि दास थियौ
आज पनि दास छौ
भोलि पनि दास हुनेछौ
त्यही सहनुपर्छ तिमीले ।
विना सुविधा
महङ्गो ट्याक्स तिर्नुपर्छ तिमीले
तिर्नुपर्छ तिमीले
रोगको
भोकको
आफ्नै कमाईको
अनि थुप्रै आवश्यकताको
भारै थेग्न नसक्ने गरी
चर्को कर तिर्नुपर्छ तिमीले
तिमीले तिर्नेपर्छ ।
सक्दैनौ ???
नसक्ने भए
मौन बसेर टाउको नहल्लाउ
हँ मा हँ धेरै नमिलाउ
सक्छौ लड्न सिक
सक्दैनौ ?
सक्दैनौ भने मरेतुल्य जीवन के बाँच्छौ
मर्नैपर्छ तिमीले
जो आफ्ना लागि केही गर्न सक्दैनौ
देशका लागि के गर्छौ ?
                       –सोमराज पोखरेल ‘लुनाटिक’                
  (कान्तिपुर अस्पताल, तीनकुने काठमाडौं, ०७० बैशाख ४)






0 comments for "कविता : बाँच्नुको अर्थ "

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts