गणेशमार्ग जिन्दाबाद

Posted by somdai a lunatic on Jun 29, 2011 | 0 comments


सोमराज पोखरेल, लुनाटिक


भगवानको जुगको कुरो हो । शिवजीको पनि आफ्नै संसार थियो । शिव पार्वती अनि दुई छोराहरु गणेश र कुमार । दुई छोराहरु आँखाका नानी । निकै मस्ती पनि गर्ने । तर सधै त्यस्तो कहाँ हुन्थ्यो र । एक पटक दुई छोरामध्ये को ठूलो भन्नेमा ठूलै रडाको मच्चियो । बाबुआमाले अग्नी परीक्षा लिनका लागि दुवै भाइलाई तयार पारे । सर्त थियो यो विश्व जसले पहिले भ्रमण गरेर आउँछ उही पहिलो । कुमार थिए तगडा । गणेश भुँडे । बाहन मुसोलाई लगेर जुग लाग्ने भो । मयुरमा चढेर कुमार विश्व भ्रमणका लागि लागे । बाबु आमाको आज्ञाकारी बन्न कुमार आतुर थिए ।
यहाँनिर फसाद पर् यॊ गणेशलाई । के गर्ने । कुमारलाई जित्न सक्ने कुनै हैसियत गणेशमा रहेन । उनलाई पनि ठूलै बन्नु थियो । साम दाम दण्ड भेद चारै उपायका साथै हात र हतियारले पनि काम नगर्ने देखेपछि गणेश लागे सातौं उपायतर्फ । त्यो थियो चाप्लुसी । हो त्यही चाप्लुसीको मार्ग अपनाउँदै गणेश बाआमाका शरणमा गए । भट्टाउँदै गए - बाआमा भनेका त संसार हुन् । सृष्टि भनेकै त उनीहरु हुन् । त्यसैले वित्थामा संसार घुम्नुभन्दा बाआमालाई घुम्नु उत्तम हो । तपाइर्ं नै सुमेरु पर्वत । तपाईं नै ब्रम्हाण्ड ।
गणेशले मोटो दाउपेच के लगाएथे शिवजी लठ्ठ । असली छोरो त यही रहेछ भन्ने परिहाल्यो शिवलाई । चाकडी र चाप्लुसीको भूमरीमा फसिहाले शिव । बाबुको आज्ञा शिरोधर गरेर विश्व भ्रमण गरेर फर्किएका कुमारको औचित्य त्यतिबेलै सकियो जतिबेला शिवजी गणेशको चाप्लुसीमा अल्झिए ।
जुगको कुरो अहिले विश्वको जुनसुकै भागमा फैलिएको छ । ठूलाबडाको चाहना र तृप्ति यसबाटै पूर्ति भइरहेका छन् । कुनै घर होस् या कार्यालय चाकडी र चाप्लुसीले पनि चलेका छन् । यसले हतोत्साही भैहाल्ने स्थिति छैन । पहाडै टुट्ने स्थिति छैन । तर जो काममा दत्तचित्त भएर लाग्न सक्दैन उसलाई भने चाप्लुसी अचुक औषधि भएको छ ।
छिमेकी कर्णमानले निजी कार्यालयबाट हिजो मात्र जागिरबाट हात धुनुपर् यो । हाकिमलाई तेल घस्न नपुगेर । रुपकलीले पनि धन्नै सधैका लागि विदा लिनुपरेको । चाप्लुसी नगरेकै भरमा गास काटिने भएपछि रुपकलीले वाध्य भएर कुरुपमाथि रुप थुपर्नु परेको छ अहिले ।
तपाईं पनि काम गर्नुहुन्छ नि । कति मेहनत गर्ने । छोडिदिनुस् मेहनत गर्न । दुःख गरेर एक छाक पेट पाल्नुको के अर्थ रह्यो र । लौ बरु लाग्नुस् चाकडी र चाप्लुसी गर्न । आफू भलो त जगत् भलो । गणेशमार्ग जिन्दाबाद ।

0 comments for "गणेशमार्ग जिन्दाबाद"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts