सीएनएन हिरो र नेपाली राजनीति CNN Hero and Nepali Politics

Posted by somdai a lunatic on Dec 4, 2012 | 0 comments



सोमराज पोखरेल
‘गरिबी
 अशान्ति
चेलिबेटी बेचबिखन
महिला हिंसा
अधिकार हनन
सजिलै हट्दैन यो रोग 
सक्रिय जो छ यसमा
भइरहन्छ सीएनएन हिरो । ’
यसपटक पनि ‘सीएनएन हिरो’ को उपाधि नेपाली चेलीले नै जितेकी छिन् । नेपालका विभिन्न कारागारमा कैदी बन्दीको जीवन विताइरहेकाका बालबालिकालाई पालन पोषण तथा शिक्षादीक्षामा क्रियाशील २९ बर्षीया पुष्पा बस्नेतले उक्त उपाधि जितेकी हुन् । पुष्पा विश्वले सलाम गर्ने ब्यक्तिमा पर्छिन् । त्यसमा दुई मत नहोला । उनी सीएनएन हिरोको मनोनयनमा परेसंगै यो स्तम्भकारको मनमा लागिसकेको थियो कि उनी नै हिरो हुन्छिन् । त्यसैले त्यतिबेलै कोरिएका हुन् माथिका पंक्तिहरु । यसअघि चेलिबेटी बेचविखन विरुद्धको अभियानमा लागिरहेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पनि ‘सीएनएन हिरो’ भएकी थिइन् ।
खासमा सीएनएन हिरो बन्नु गर्वको विषय हो । त्यसका लागि अनुराधा र पुष्पा बधाइका पात्र हुन् । त्यससंगै अर्को चुनौती सधैभरि रहिरहने छ । त्यो हो हाम्रो देशमा विकृति कहिले हट्ला त ? समस्या खडा भएपछि समाधानका लागि अनुराधा र पुष्पाले अविश्मरणीय भूमिका खेलेका छन् । तर यो गरिब मुलुकमा त्यतिले अवश्य पुग्ने छैन । गरिब मुलुक भएकैले जति पनि सीएनएन हिरो भएर उनीहरुले नेपालमा ठूलै डलर भित्र्याउँछन् उनीहरु पुनः आफैले गरेको कर्मक्षेत्रमा लगाउने नै छन् । समस्या नहटेसम्म फेरि अर्को वर्ष कुनै एक जना नेपाली नै सीएनएन हिरो हुनेछ । उसले पनि केही सम्मान पाउने छ । संचारमाध्यममा मूख्य शीर्षकमा समाचार बन्नेछ । अनि केही दिन सबैको मुखमा वाहीवाहीको पात्र बन्नेछ । त्यसपछि सीएनएन हिरो बन्नेहरु छायाँमा पर्नेछन् । र, नेपाली दैनिकी पुनः आफ्नै पाटोमा गइरहने छ । यसैगरी चल्नेछ नेपालीको नियति ।
यहाँ नीतिनिर्माणतह फितलो छ । कार्यान्वयन गर्ने पक्ष अझै फितलो छ । अनि गल्ती भए कार्वाही गर्ने पक्ष उल्टै कार्वाहीको दायरामा पर्न जान्छ । यो अवस्थामा कसरी होला अपराधको अन्त्य । कर्मचारीतन्त्र उत्तरदायी नहुनु, सरकार उत्तरदायी नहुनु र नागरिक समाज चासोविहीन हुनुले अपराध बढ्दै गएको छ । ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहज चल्न नसक्दा नियति झन् झन् जर्जर बन्दै गएको छ ।
सबैभन्दा ठूलो भूमिका खेल्ने सरकार निकै नालायक सावित हुँदै गएको छ । नेपालमा लोकतन्त्र आएसंगै जे पनि गर्न हुन्छ भन्ने मानसिकताका साथ नेता तथा तिनका पिछलग्गु लाग्दा विधिको शासनको खिल्ली उडिरहेको छ । साँच्चै भन्ने हो भने उनीहरुका लागि कानुन नै छैन । सर्वसाधारण भने निकै पीडा खेपेर बाँचिरहेका छन् । उनीहरुका हरेक अधिकार हनन भइरहेका छन् ।
संसद छैन । न्यायपालिका मौन छ । सरकार पूर्णाधिकारमा भन्दा कामचलाउको हैसियतमा बढी समय टिकिरहेको छ । चाहे त्यो माधवकुमार नेपालको पालामा होस् या चाहे बाबुराम भट्टराईको पालामा होस् उनीहरुकै नेतृत्व हावी भएको छ । विना उत्तरदायी कुर्सीमा बस्न पाइरहँदा उनीहरु झन् साँढे प्रवृत्तिमा नाचे । बाबुराम अझै पनि त्यही हैसियतमा नाचिरहेका छन् । किनकि नागरिक समाज चुप छ । सर्वसाधारण आफ्नो हैसियत बुझ्न खोजिरहेको छैन । सत्तापक्ष र प्रतिपक्षी विकासे काममा भन्दा कुर्सीमोहमा मात्र लागिरहेका छन् ।
राष्ट्रपतिदेखि नेताको पिछलग्गु कार्यकर्ताको अहिलेको एउटै आवाज छ राजनीतिक निकासका लागि राष्ट्रिय सहमति । त्यो सहमति कुनै देशको विकास कायापलट गर्न लागिएको नभइ त्यही कुर्सीको लागि मात्र हो । कोही ब्यक्ति कुर्सीमा फेरिएर रहँदैमा समाधान पक्कै निस्कदैन । त्यसका लागि दीर्घकालीन सोचको जरुरी पर्दछ । त्यो सोच लिएर कुनै पनि नेताले राजनीति नगरिदिंदा सधै अप्ठ्यारो भइरहेको छ ।
राष्ट्रपतिले सहमतिका लागि दिएको सात दिने म्याद ‘डेट एक्सपायर्ड’ हुन नपाउँदै अर्को हप्ते म्याद पनि त्यही ड्याङ्मा सामेल हुँदैछ । तर नेताहरु कोही गम्भीर छैनन् । त्यसैले दलीय र ब्यक्तिगत स्वार्थमै लागिरहेका छन् । कोही ‘मोलतोल’मा लागिरहेका छन् ।
यही गति भइरहेका खण्डमा देश अझ दलदलमा फस्नेछ । कुनै सानो क्षेत्रमा उद्धार गर्न अनुराधा र पुष्पाजस्ता मानवीय गुण भएकाहरु सक्रिय हुन्छन् अनि फेरि जित्नेछन् सीएनएन हिरोको उपाधि । तर नेपाली राजनीतिका पथभ्रष्टहरुलाई हराएर स्वर्णीम नेपाल बनाउने हिरोको प्रतिक्षा भने रहिरहने छ ।

0 comments for "सीएनएन हिरो र नेपाली राजनीति CNN Hero and Nepali Politics"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts