भ्रष्टाचारमा नेपाल र बाबुरामको डम्फु Corruption in Nepal and PM's drama
Posted by somdai a lunatic on Dec 9, 2012 | 0 comments
–सोमराज पोखरेल
Nepal is ranked in the 139th place
among 176 countries in the Corruption Perceptions Index (CPI), according to
Transparency International (TI), a global corruption watchdog. By the base of this report Nepal is
inspirational country to spread corruption. The report said the score secured
by Nepal shows that government, state, political parties and political
leadership are not serious about controlling corruption in the country. But
Prime minister Baburam Bhattarai is unexpecetdly told to the media that he is
not free to eliminate corruption.
नेपाल भ्रष्टाचार गर्ने राष्ट्रहरुको सूचीका निकै माथि छ । एक सय ७६ राष्ट्रहरुमा नेपाल एक सय ३९ औं स्थानमा छ । पछिल्ला वर्षमा नेपालले भ्रष्टाचार गर्ने राष्ट्रमा आफूलाई अझ अब्बल बनाउँदै लगेको हो । यति हुँदाहुँदै पनि जब भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आउँछ अनि नेपालले खुवै तामझामका साथ यो दिवस मनाउँछ । खुवै ठूला प्रतिवद्धता पनि गरिन्छन् । जो बढी भ्रष्ट छन् उनीहरुकै भाषण चर्का हुने गरेका छन् । यसपटक पनि त्यही भयो । भ्रष्टाचारीहरु सडकमा, आमन्त्रित कार्यक्रममा र विभिन्न संचारमाध्यममा खुवै कुर्लिए ।
प्रधानमन्त्री बाबुराम भट्टराईले त उच्च राजनीतिक तथा प्रशासनिक तहबाटै मलजल पाएकाले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान सफल हुन नसकेकोसमेत बताए । हाँस्यास्पद कुरो त के हो भने उनी राज्यको कार्यकारी अधिकार लिएका सबैभन्दा ठूला ब्यक्ति । ठूलो दल कहिलएको एकीकृत माओबादीका उपाध्यक्ष । यति हुँदाहुँदै पनि उनीभन्दा अर्को कुन चाहिं ठूलो ब्यक्ति उब्जियो र उनले काम गर्न सकेनन् ? सरकारको नेतृत्व गरेदेखि नै आफूले भ्रष्टाचार अन्त्यका लागि पहल गरे पनि भ्रष्टाचार अन्त्य हुनुको सट्टा भ्रष्टाचारीबाट आफ्नै अन्त्य हुने खतरा बढेको टिप्पणीसमेत प्रधानमन्त्री भट्टराईले गर्न भ्याए । राष्ट्रपति डा. रामवरण यादवले दिएको समयसीमा सकिनै लाग्दा राष्ट्रिय सहमति गर्नुृको सट्टा राष्ट्रपतिको अपमान गर्न तुलेका सरकारका नेतृत्वकर्ताले आफ्नो अन्त्य हुने खतरा बढेको भनिरहनुको के तुक भयो र ? विधिको शासनमा चल्न पनि नजान्ने अनि सहमतिमा पनि नआउनेलाई कसले पो सधै्रभरि माया गर्ने होला र ! भ्रष्टाचारीलाई बढावा दिंदै सरकारको आयु लम्ब्याउन माहिर बाबुरामले कम्तीमा अनुशासनका कुरा गरेर शब्दको बेइज्यत अब नगरेकै जाती ।
‘स्वास छन्जेल आश’ भनेझैं आशा राख्दै सरकारको आयु बढाइरहेका बाबुरामले ऐन कानुनमै सुधार गरेर भ्रष्टाचारको अन्त्यका लागि पहल थाल्ने बताएका छन् । अयोग्य माओबादी लडाकुलाई दिएको भत्ता र विभिन्न शिविरमा नभएका लडाकुकोसमेत नामबाट पैसा निकाली राज्य डुबाएको चाहिं भ्रष्टाचार नदेख्ने बाबुरामले अब फेरि कुन कानुन बनाएर कार्यकर्ता पोस्ने हुन् भन्ने डर बढेको छ ।
सामान्यतया राज्यलाई चाहिने गतिविधिभन्दा भद्दा किसिमले गरिने कुनै पनि क्रियाकलाप भ्रष्टाचारमा गनिन्छ । आफ्नै कार्यालयमा गरेको चियापानमा अहिलेसम्मकै सर्वाधिक रकम खर्चिने प्रधानमन्त्रीले भाषणमात्र राम्रो गर्न जानेका छन् मितब्ययिता हैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तिका लागि अध्यादेश ल्याउन निर्णय गरे पनि जारी हुन नसकेका कारण काम गर्न नसकिएको प्रधानमन्त्रीको तर्क छ । वैध रुपले सरकारमै भएका बेलामा उनलाई अध्यादेश ल्याउन फुर्सद नै भएन । अख्तियार छ वर्षदेखि नेतृत्वविहीन छ भन्ने कुराको ज्ञान सायद उनमा रहेन । आफ्ना कार्यकर्ता र आफन्त खोजीखोजी राम्रा र आम्दानी हुने ठाउँमा नियुक्त गर्दा उनमा कुनै ग्लानी भएन । अनि जब भ्रष्टाचार विरुद्धको अभियानको दिन आउँछ अनि ढुक्कसंग भन्छन् – काम गर्न पाइन । आफ्नै पार्टीको तीव्र विरोधका बीच त भारतसंग विप्पा सम्झौता गर्न नरोकिएका प्रधानमन्त्री भट्टराईलाई देशमा ब्याप्त भ्रष्टाचार बढार्न कुन दिशाको हावाले रोक्यो त ?
के प्रधानमन्त्रीलाई भ्रष्टाचार भनेकै थाहा नभएको हो र ? यदि हैन भने पार्टीको कामले हेलिकप्टर प्रयोग गरेर भाषण गर्न जानु पनि भ्रष्टाचार नै हो । अनि जनताको दैलोमा जाने नाटक रचेर खुवै देश दौडाहामा जानु पनि भ्रष्टाचार नै हो । नैतिकता बेचेर झुठको खेती गर्नु पनि भ्रष्टाचार नै हो । अब प्रधानमन्त्रीले गरेको कुन चाहिं नकारात्मक चिज भ्रष्टाचार होइन भन्ने अवस्थै रहेन । आफूलाई मन लाग्ने चिज जे पनि गर्न पाइने भएको भए त कसले के के गर्थे गर्थे नि । तर विधिको शासन र सुशासन उल्लंघन गरेर गाइजात्रा देखाउने अनि काम गर्न पाइन भनेर नौटंकी बोली बोल्दैमा कसैले पत्याउलान् जस्तो लाग्दैन ।
भ्रष्टाचारले विश्वमा महामारीको रुप लिएपछि त्यस विरुद्ध लड्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् २००३ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानुनका रुपमा भ्रष्टाचार बिरुद्धको महासन्धी जारी गरेदेखि यो दिवस मनाइंदै आइएको छ । राष्ट्रसंघका महासचिव बान की मुनले सन् २०१५ मा सहश्राब्दी विकास लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार उन्मुलनमा सबैको सहयोग अपरिहार्य रहेको बताइरहँदा नेपालमा राष्ट्रसंघको आब्हान लत्याउनु नै उपयुक्त जस्तो देखिएको छ । किनकि यहाँ भ्रष्टाचार उन्मुलन होइन उम्लिरहेको छ । यसकै आडमा रहेर बाबुरामले राज गरिरहेका छन् । यदि साँच्चिकै जनताले निकासको बाटो नखोज्ने हो भने नेपाल एक सय ३९ औं स्थानमा होइन पूराका पूरा एक सय ७६ औं स्थानमै हुनेछ । तसर्थ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष बिष्णुबहादुर केसीको भनाईमा भ्रष्टाचार अन्त्यका लागि नीतिगत तहबाटै सुधार गर्नुपर्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "भ्रष्टाचारमा नेपाल र बाबुरामको डम्फु Corruption in Nepal and PM's drama"
Leave a reply