महिला सहानुभूति हैन अस्तित्व चाहन्छन् WOMEN WANTS EXISTENCE NOT SYMPATHY
Posted by somdai a lunatic on Dec 12, 2012 | 0 comments
–उमा गौतम Uma Gautam
(This article is published on Himalaya times in December 12, 2012)
The theme is : women have their own identity. They are capable to do their work. They don't need sympathy, they wants their existence.
यसपटक पनि महिलामाथि हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार’ भन्ने सन्देशका साथ गत मंसिर १० देखि २५ सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन भएको थियो । यसपाली पनि थुप्रै प्रतिवद्धतासहित यो अभियान सकियो । महिला अधिकारकर्मीहरु निकै जुर्मुराए । पुरुषले पनि त्यसमा साथ दिए ।
१६ दिनसम्म साँच्चिकै खुवै राम्राराम्रा भाषण र चेतनाका कुराहरु खुवै सुनिए । महिलाअधिकारकर्मीहरु त कुर्लिए नै प्रधानमन्त्रीसमेत पछि परेनन् । महिला दिवसका दिन उनले दिएको सन्देशले अहिलेसम्म पनि झक्झकाइरहन्छ । उनले भनेका थिए – तपाईंहरु अब पुरुष (पति) ले केही नराम्रो भनेका खण्डमा गालामा चड्कन हान्न पछि नपर्नुस् । मुलुकको प्रमुखले त्यसरी भनिरहँदा निकै तीतो अनुभव भएको थियो । किनभने महिला हिंसाविरुद्धको अभियान भनौं या महिला दिवस त्यसले दिने सन्देश नारी पुरुष बराबरी हुनुपर्छ भन्ने हो । पुरुषले जसरी अवसर पाइरहन्छ त्यही अवसर महिलालाई पनि दिनु भन्ने हो । महिलाले आफ्नो अस्तित्व आफै नबनाएसम्म यो दिवस मनाइरहनु भन्ने हो । अनि समाजमा महिलामाथि हुने त्यस्ता दमन, हिंसा र मिचाहा प्रवृत्ति बन्द हुनुपर्छ भन्ने हो ।
यसलाई अझ स्पष्ट पार्नका लागि महात्मा गान्धीको भनाईलाई समेट्दा राम्रो हुन्छ होला । महात्मा गान्धी ‘बापू’ को जन्मोत्सव धुमधामका साथ मनाइंदै थियो । त्यो उनको इच्छाले नभई उनका प्रशंसकको चाहनाले भइरहेको थियो । उनका प्रशंसकले उनलाई लत्ता कपडा दिए । उनले सहर्ष स्वीकार गरे । तर जब गान्धीकी पत्नी कस्तुर्बा गान्धीलाई पनि उनीहरुले केही दिन खोजे अनि गान्धी अचानक रिसाए । उनले भने – त्यो उनको अपमान हो । ‘जन्मोत्सव मेरो कि ‘बा’ (कस्तुर्बा) को ?’ खासमा महात्मा गान्धी चाहन्थे सबैको आ–आफ्नो अस्तित्व हुन्छ । तसर्थ उनीसंगै उनकी पत्नीलाई संगसंगै नजोडियोस् । गान्धीले उनका प्रशंसकलाई सम्झाउँदै भने – तिमीहरुले ‘बा’लाई माया गर्छौ भने उनकै जन्मोत्सवमा उपहार देऊ । यदि महिलाको अस्तित्व र पहिचान बुझ्ने हो भने महात्मा गान्धीको यो भनाई नै काफी छ । त्यही अस्तित्वको खोजी गरिनु पर्छ । त्यसकै लागि महिला अधिकारको कुरा गरिनुपर्छ ।
तर दुर्भाग्य भन्नुपर्छ यहाँ महिला अधिकारका लागि राजनीति गरिन्छ । महिलालाई पुरुषले त अपमान गर्ने नै भए अवसर पाए महिलाले महिलालाई नै अपमान गरिरहेका छन् । चर्का भाषणमा पुरुषले यसो ग¥यो र उसो ग¥यो भन्नेहरु पनि आफ्नो घर लथालिङ्ग र भताभुङ्ग पारेर हिंडेका छन् । अधिकारका लागि लड्नु भनेको अर्काको अधिकार हनन हुन नदिनु हो । महिला पुरुष सृष्टि हुन् । एकको अभावमा सृष्टि खल्बलिन्छ । हो, त्यही सृष्टि सन्तुलनका लागि महिला हिंसा नगर्नु भन्ने हो ।
खासमा अधिकार सबैले समान पाउनु पर्छ । विश्वमै ६४ पटक भइसक्यो मानवअधिकार दिवस मनाएको । तर लगातार रुपमा महिला हिंसाका घटना त भएकै छन् पुरुष पनि ठाउँठाउँमा अधिकारबाट टाढा छन् । यसपटक ‘न्यायमैत्री शान्ति, मानव अधिकारमैत्री नयाँ संविधान ः विभेदरहित समाज निर्माण हाम्रो अभियान’ भन्ने सन्देशका साथ यो दिवस मनाइयो । तर के दिवस मनाउँदैमा मानवअधिकार सफल भएको छ र ? नेपालमा मानव अधिकार आयोगले गरेका कारवाही र क्षतिपूर्तिको सिफारिस कार्यान्वयनमा जब सरकार नै उदासिन छ भने त्यसको प्रभाव त्यसै पनि स्पष्ट हुन्छ । तसर्थ मानवअधिकारसंगै महिला अधिकार पनि जोडिएको छ । यसलाई सबै मिलेर समाधान गर्नुपर्छ ।
शिक्षा र चेतनाविना कुनै पनि परिवर्तन सम्भव छैन । अहिले पनि पुरुषलाई त चेतना दिनुपर्छ नै महिला पनि त्यसबाट अछुत छैनन् । महिलाले आफ्नो हक अधिकारका बारेमा जान्न सके भने पनि आधाजसो समस्या समाधान हुने थियो । तर अहिले जे जस्ता क्रियाकलाप भइरहेका छन् ती सन्तुष्ट हुने खालका छैनन् । किनकि महिलाले पुरुषलाई दुस्मनको रुपमा हेर्ने हो भने भोलि फेरि अर्को विकराल रुप लिन्छ ।
महिलाले महिलाको सम्मान गर्दै पुरुषलाई सम्मान गर्न सिकाउनु नै उत्तम विकल्प हो । घरबाटै हुने हिंसाको अन्त्य घरकै सासु–बुहारी, नन्द भाउजु, आमाजु–बुहारी जस्तामा लागु हुन सके घर बलियो बनाउन सकिन्छ । नेपाली समाजमा पुरुष अहिले पनि हावी छ । घरको मूली उही छ । तर उक्साउने महिला नै हो भन्ने कुरा बुझ्नु जरुरी छ । कुनै ठाउँमा महिला हावी भयो भने पुरुषलाई निकै दमित गर्ने उदाहरण पाउन सकिन्छ । तसर्थ एक रथका दुई पाङ्ग्रालाई त्यसमै सीमित राखौं । रथ मजबुत पारौं ।
। महिलाहिंसा विरुद्धको अभियान १६ दिनसम्म चल्यो तर मुलुकमा थुप्रै महिला हिंसाका घटना भए । त्यसको जिम्मा यो समाजले नै लिनुपर्छ । बर्दियामा एक युवतीले युवकसंग बिहे गर्न नमानेकैले जलाइनु प¥यो । युवतीले आफ्नो जीवनको निर्णय लिने अधिकार नभएकैले यस्तो घटना भयो । केही जिल्लामा जवरजस्ती करणीका घटना भए । तर कार्वाही फितलो छ । त्यस्तो कार्वाही गर्न सक्नुप¥यो ता कि कसैले दोस्रो पटक यस्ता घिनलाग्दा हिंश्रक अपराध गर्नेले हजारौं पटक सोचोस् ।
दुर्भाग्य भन्नुपर्छ महिला हिंसा विरुद्धको अभियानमा लागेका संस्थाहरु थुप्रै जन्मिएका छन् । तिनीहरु महिलालाई चेतना दिने र शिक्षा दिने भन्दै थुप्रै रकम कमाइरहेका छन् । न त पीडित महिलाले कुनै राहत पाएकी छ न त कुनै चेतनामूलक कार्यक्रम प्रभावकारी भएको छ । सरकारले पनि गम्भीर भएर यसमा ख्याल नगर्ने हो भने ‘आधा आकाश ढाकेका महिला’ भनेर झन् अपमान नगरोस् ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "महिला सहानुभूति हैन अस्तित्व चाहन्छन् WOMEN WANTS EXISTENCE NOT SYMPATHY "
Leave a reply