लालध्वजको लीला अपरम्पार
Posted by somdai a lunatic on Jan 18, 2013 | 0 comments
–सोमराज पोखरेल
नेपाली समाजमा एउटा भनाई चर्चित छ – कुनै काम भएन भने देशलाई सराप्ने । अनि भन्दिने ‘सतीले सरापेको देशमा यस्तै हो ।’ यस्तो भनाई सदिऔंदेखि चल्दै आएको छ । सतीप्रथाको अन्त्य भए पनि श्राप अझै लागेको बुढापुरानाको तर्क होला । तर आजकलका युवाहरु त्यसमाथि पनि लोकतान्त्रिक मुलुकमा त्यसले फरक त पार्न नहुने नै हो । अझ कम्यूनिष्टहरुलाई त यसले छुँदै छुन्न ।
लोकतन्त्र संस्थागत गर्न नसकेकै कारण त्यसले नै दुःख दिइरहेको छ । नेपाललाई ‘गणतन्त्र मुलुक’ घोषणा गरेसंगै अहिलेसम्म मुलुकले कार्यकारी अधिकारप्राप्त चार जना प्रधानमन्त्री पाइसकेको छ । एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल र त्यसपछि एकीकृत माओबादीका उपाध्यक्ष बाबुराम भट्टराई । कोही सर्वहारा वर्गको नाममा र कोही गरिबको नाममा पार्टीलाई धनी बनाउँदै लगे । आफ्नो सम्पत्तिलाई कार्यकर्ता र नागरिकको मन जितेर हैन पैसाको थैलोले बढाउँदै लगे । सुनिन्छ कसैको भारतीय एक बैंकमा करोडौं रुपैयाँ छ । त्यसलाई हतियार बनाउँदै भारतले पेल्दै आएको छ र भारत विरोधी भए पनि पोल खोलिने डरले चुप् बस्नुपर्ने अवस्था छ ।
नेपालमा गरिवी छ । त्यसैले गरिब छन् । गरिवी हटाउन गरिबलाई कि त काम गर्ने अवसर दिनुप¥यो कि त स्तरोन्नति नहुन्जेल उनीहरुलाई सरकारले मासिकरुपमा आर्थिक सहयोग गर्नुपर्छ । नेपालको सबैभन्दा पुरानो टेलिभिजनको वार्षिकोत्सवको अवसरमा सर्वहाराहरुको नेतृत्व गर्दै बालुवाटारको चुब्बके कुर्सीमा टाँसिइरहेका प्रधानमन्त्री बाबुरामले भने– ‘नेपालको भविष्य राम्रो छ । नेपालीको भविष्य राम्रो छ । म त सबै उज्ज्वल मात्र देख्दैछु ।’ उनले आफ्नो भविष्य मात्र बनाए । के सर्वहारा वर्गलाई कस्तो छ भनेर सोधे ? गरिबको दैलो कार्यक्रम अन्तर्गत ठाउँ ठाउँमा हेलिकप्टरमा जाँदै गरिबलाई ‘चुना’ लगाउने काम गरे । राष्ट्रको ढुकुटी रित्याउने काम गरे । अनि कसरी हुन्छ त भविष्य राम्रो? हुँदाहुँदा सशस्त्र द्धन्द्धका बाबुराम भट्टराई उर्फ ‘लालध्वज’ले ऋण बोकाइदिएर भविष्य राम्रो पारिदिने होइन ‘कालध्वज’ उपनाम लिएर फर्किने काम गरेका छन् ।
दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्याराले हत्या गरेको स्वीकार गरिसक्दा पनि कार्वाही गर्नु त कता हो कता उल्टै संरक्षण गरेर बाबुरामले आफू लालध्वजमै चम्किने देखेका छन् । नेपालका एकमात्र बुद्धिजीवी कम्यूनिष्टको फूल्फुलाउने उपमा पाएसंगै निकै मात्तिएका बाबुरामले न त सरकार राम्ररी चलाएका छन् न त आफ्नो गतिविधि नै । उनमा नैतिकता भन्ने शब्द नै बाँकी रहेन ।
लोकतन्त्रमा सबैभन्दा बढी स्वतन्त्रता हुने क्षेत्र भनेको संचार जगत् हो । राज्यको चौथो अंग हो । त्यही अंगलाई जब बन्धनमा बाँधेर राख्ने काम गरिन्छ भने त्यो लोकतन्त्र हुनै सक्दैन । अझ भनौं लोकतन्त्रमा हरेक नागरिकलाई जान्न पाउने अधिकार छ । जब चौथो अंग नै त्यो अधिकारबाट टाढा हुन्छ भने त्यहाँ कसका अधिकार बाँकी रहे ?
माओबादीले ०५२ सालमा सुरु गरेको सशस्त्र द्धन्द्धले १० वर्षमा मुलुकले १५ हजार नेपाली गुमायो । मर्नेहरु कुनै पार्टीका कार्यकर्ता, सरकारी नोकर, द्धन्द्धका हतियारधारी जे भए पनि समग्रमा नेपाली थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ४० बुँदे माग सम्वोधन नगरेको भन्दै माओबादीले भूमिगत सशस्त्र आन्दोलन थालेको थियो । तर त्यही माओबादी सत्तामा भएका बेला ४० बढी माग लिएर सशस्त्र द्धन्द्धमै होमिएकाहरुको ठूलो समूहले सरकारलाई सम्वोधन गर्न भनेको थियो । फरक के भयो त तत्कालीन सरकार र अहिलेको सरकारमा ? तसर्थ माओबादीको एक मात्र मिसन सत्ताकब्जा नै हो । त्यही अनुरुप लागेको छ ऊ । अहिलेको बाबुराम नेतृत्वको सरकारले सत्ताकब्जालाई दरिलो पार्ने आधारस्तम्भ मात्र खडा गरेको छ ।
राष्ट्रपतिले दलहरुलाई राष्ट्रिय सहमतिका लागि दिएको नवौं चरणको समय पनि ब्यर्थैमा बित्यो । विपक्षी दलहरु बाबुराम सरकारसंगै मिलेर सती जान सक्दैनन् । बाबुरामले ज्यान जाला सत्ता छाड्दैनन् । अनि राष्ट्रपतिले के गरुन् । चुप लागेर बस्दिन भन्दै कराए पनि उनको चिच्याहटमा कुनै दम भएन । किनकि बाबुराम उर्फ लालध्वज अरुको लागि पुनः कालध्वज बनेर आएको छ । हैन भने राष्ट्रको कार्यकारी प्रमुखले पत्रकार हत्यारालाई कार्वाही नगर्न आदेश दिनुलाई के भन्ने । अनि न्यायपालक महान्यायाधिवक्ता पनि बाबुरामकै तालमा नाच्छ भने विधिको शासनको खिल्ली उडाउने काम भयो नभनेर के भन्ने ?
यसबाट स्पष्ट हुन्छ १५ हजार नेपालीले मुलुक नयाँ नेपालमा परिणत हुनका लागि ज्यान गुमाएका हैनन् त्यो कामरेड लालध्वजको कृपाले हो । त्यही लालध्वज नेपालको प्रमुख ब्यक्ति भएर राजनीतिक अस्थिरता फैलाउन सक्रिय छ । थाहा छैन ऊ यसपटक कसका लागि कालध्वज बन्दैछ । यति कुरामा ढुक्क भए हुन्छ ऊ सर्वहारावर्गको उत्थान हैन नष्ट गर्नमा जुटेको छ । नेपालमा गरिवी हैन गरिब घटाउन लागिपरेको छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "लालध्वजको लीला अपरम्पार"
Leave a reply