Decrease expenses not ideology
Posted by somdai a lunatic on Mar 12, 2014 | 0 comments
–सोमराज पोखरेल
भनिन्छ दिल्लीमा पानी परे नेपालमा असिना आउँछ । बेइजिङ्गमा हावा लागे नेपालका रुख ढल्छन् । विश्वबजारमा हुने हरेक किसिमका मूल्यवृद्धिको परिवर्तनको संकेतमात्रले पनि नेपाली बजारमा उतारचढाव आउँछ । परनिर्भरताको पराकाष्ठामा नेपाल छ । सदियौंदेखिको यो पुख्र्यौली देन अझ कति समय लम्बिने हो त्यो यकिन छैन । दबाबकै भरमा भइरहेको राजनीतिक उचारचढाबले बताउँछ हामीहरु कति परनिर्भर भइसकेका छौं ।
मुलुक यतिबेला सहज स्थितिमा छ कि असहज परिस्थितिबाट गुज्रिरहेको छ भन्ने अड्कल काट्न सक्ने स्थिति छैन । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सम्पत्तिको फेहरिस्त बुझाएका छन् । सम्पत्तिको नाममा तीनवटा मोबाइल । यसमा कुनै शंका छैन कि कोइरालासंग सम्पत्ति छैन । घर–गृहस्थी छैन । त्यसैले उनीसंग गरगहना, घरजग्गा केही नहुन सक्छ । तर तीनवटा मोबाइल छ भन्दा भने अनौठो ंलाग्ने कुरो भएको छ । चर्चाको विषय बनेको छ ।
जोसंग अरु केही छैन तीन–तीन वटा मोबाइल चाहिं किन चाहिने ? फेरि त्यो एउटा पुरानो, अर्को बिग्रेको र एउटा नयाँ अर्थात् चल्तीको । बिग्रेको मोबाइललाई सम्पत्तिको रुपमा लिएका कोइरालाले हातमा लगाएको घडी र औंठीलाई सम्पत्ति नमान्दा भने दुःख लागेको छ । किन ढाँटेका हुन् उनले कुन्नि ! भनिन्छ सियो चोर्ने पनि चोर र घर फोर्ने पनि चोर । मुलुकको बागडोर सम्हालेको व्यक्तिले स–साना विषयमा गर्ने गल्तीलाई गम्भीर रुपमा लिइन्छ । फेरि किन सुशील कोइरालाले गल्ती गरे ?
हो, उनमा इमानदारी छ । म्यानमार गएर आएको भत्ता लिएनन् । राष्ट्रको आर्थिक भार कम गरे । यहाँ उनले दुईचार पैसा नलिंदा हुनेवाला केही छैन । उनले आपूm मातहतका अरुलाई पनि आफू जस्तै बनाउन सक्नुपर्छ । आफूले पाएको सुविधा लिन नखोज्ने तर जनतालाई महंगी थोपरिदिंदा भने कोइरालाको आदर्श डगमगाएको स्पष्ट हुन्छ । आपूmले सुविधा नलिने अनि सभासदहरु भने संविधानसभा बैठकमा सहभागी नभई व्यक्तिगत काममा व्यस्त रहने । यति हुँदा पनि कोइरालाले कार्वाही गर्न नसक्ने । त्यसैगरी मन्त्रीहरु उपस्थित नहुँदा संसद बैठक अवरुद्ध भएकोतर्फ ध्यान नदिने । यस्तै हो भने उनको आदर्श देखावटी छ भन्ने स्पष्ट हुन्छ ।
संसदमा उपस्थित नहुनेलाई भत्ता पनि दिनु हुँदैन । मासिक तलवमै कटौती गर्न सक्नुपर्छ कोइरालाले । देश यसै पनि गरीव बन्दै गएको छ । पीडित जनता झन् पीडित बन्दै जाने । अनि चुस्न पल्केकाहरु अझ मोटाउँदै जाने । यस्तै प्रवृत्ति बढ्यो भने सुशील कोइरालाको खोक्रो आदर्श धेरै दिन टिक्ने देखिंदैन । अन्य मन्त्रीहरुले अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । कहाँ कति सम्पत्ति छ ? आम्दानीको स्रोत के के हो ? गरगहना कति छन् ? जस्ता समग्र विवरण दिन हिच्किचाइरहेका छन् । किनकि कुन सम्पत्ति देखाउँदा ठीक हुने हो र कुन नदेखाउँदा भविष्यमा फाइदा हुने हो भन्ने सोच्नमै लीन छन् उनीहरु । यो नै इमानदारी नभएको प्रमाण हो । तसर्र्थ सुशील कोइराला एण्ड कम्पनी’ पारदर्शी बन्नु जरुरी छ ।
कोइरालाले खर्च कटौती गर्ने जुन किसिमको नीति लिएका छन् त्यसरी नै महङ्गी नियन्त्रण गर्न ठोस कदम चाल्नु जरुरी छ । पेट्रोलियम पदार्थको बढेको मूल्य जतिसक्यो छिट्टो फिर्ता लिनु जरुरी छ । जनता महङ्गो मारमा छन् । हरेक चुनावपछिको सरकारले मूल्य वृद्धि गर्नेगर्छ । त्यही मार खेप्दै आएका छन् जनता । भारतलाई तिर्नुपर्ने रकम र नेपाल अइल निगम घाटामा छ भन्दै त्यसको मार गरीव जनतामा पार्न पार्इंदैन । सरकारको दायित्व जनतालाई पीडा दिने होइन पीडामा मल्हम लगाउने हो । यहाँ त जुनसुकै सरकारले घाउमा नून छर्कने काममात्र गरिरहेका छन् ।
यहीनेर, जब प्रधानमन्त्री कोइराला स्वयं भत्ता लिंदैनन् भने अरुलाई पनि नलिन प्रोत्साहित गर्न सक्नुपर्छ । यदि त्यस्तो गर्न नसक्ने हो भने कोइरालाबाट सिक्ने के त ? अरुलाई पनि उनले त्यस्तै वातावरण दिलाउन सक्नुप¥यो । आदर्श बाँड्ने चिज हो । ग्रहण गर्न सक्ने विचार निर्माण गर्नु पनि कला हो । मारकाट र हानाहानको स्थिति चिर्दै महात्मा गान्धीले जसरी अहिंसाबादी आन्दोलन छेंडे त्यसले विश्वलाई नै चकित पारिदियो । जस्तोसुकै हिंश्रक र तानाशाहले पनि गान्धीको योगदानको कदर गर्छ । गान्धीमार्गीहरु पनि बढ्दै गइरहेका छन् । भारतमा हरेक दशकमा एउटा नेता जन्मन्छ । तर गान्धी जिवित छन् । विश्व हतियारको दम्भमा टिकेको अवस्थामा गान्धीको विचार सशक्त बन्दै गएको छ । अहिंसामै विश्वास गर्ने सुशील कोइरालाले पनि आफ्नो मार्ग स्पष्ट पार्नु जरुरी छ । यदि त्यो मार्ग स्पष्ट भयो भने उनको पछि लाग्नेहरु बढ्दै जानेछन् । त्यसै पनि नेपालमा राजनेता खड्किएका बेला सुशील कोइरालालाई आदर्श नेताको उपमा पाउने सम्भावना बढी छ । यही गतिले भने सम्भावना कम छ ।
तसर्थ कोइरालाले व्यवहारमा लागु हुनसक्ने नीति तर्जुमा गर्नुप¥यो । कोइरालाले अहिलेसम्म सरकारको स्पष्ट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । महङ्गी बढाउने नीति पो हो कि भन्ने लाग्दैछ पेट्रोलियम पदार्थ र दूधको भाउ बढाएको देख्दा । किसानको हीतलाई ध्यानमा राख्दै दूधको भाउ बढाएको भन्ने सरकारले त्यसभित्र हुँदै आएका अनियमितताको बारेमा छानवीन गर्ने कि नगर्ने ? भारतलाई तत्काल रकम दिनका लागि पेट्रोलियम पदार्थमा भइरहेको अनियमितता रोक्ने कि नरोक्ने ?
जब अइल निगम टाँट पल्टिएको छ भने त्यस्तो अवस्थामा कर्मचारीलाई अधिक भन्दा अधिक भत्ता दिने कि नदिने ? टाँट पल्टिएको निगमले कसरी भत्ता बाँड्न मिल्छ ? अनि सुबिधाको पेट्रोलियम पदार्थ दिन रोक्ने कि नरोक्ने ? यावत् प्रश्नहरु तेर्सिएका छन् अहिले । पेट्रोलियम पदार्थमा भाउ बढेसंगै सार्वजनिक यातायातमा अनधिकृत रुपमा भाउ बढिसकेको छ । खाद्य पदार्थको भाउसमेत बढाइएको छ । यसको जानकारी सुशील कोइराला एण्ड कम्पनीलाई छ कि छैन ? छैन भने किन सुतेको र छ भने किन नजागेको ?
पेट्रोलियम पदार्थको भाउ घटाउन विपक्षी दलहरु कुर्लिसकेका छन् । विपक्षीले सरकारको आलोचना गर्नु स्वभाविकै हो । उनीहरु मौका पर्खिरहन्छन् सरकारले कहाँ गल्ती गर्छ भनेर । प्रत्यक्ष जनतासंग सरोकार राखेको विषय भएकाले पीडित जनता सजिलै सडकमा उत्रन्छन् भन्ने हेक्का यो सरकारले गरेको छ कि छैन ? एकीकृत माओबादी र नेकपा माओबादीले सडकमा उत्रने चेतावनी दिइसकेका छन् । त्यतिमात्र नभई विद्यार्थीहरु पनि संगठित भएका छन् । विद्यार्थीले बुधबार चैत ५ गते नेपाल बन्द गर्ने चेतावनी दिइसकेका छन् । यति जानकारी पाउँदा पाउँदै मन्त्रीहरु भाषण ठोक्दै हिंड्छन् अइल निगम बचाउने हो भने मूल्यवृद्धि घट्दैन । बडो आश्चर्य लाग्छ सुशील कोइरालाका ती कम्पनी पात्रहरुदेखि ।
तसर्थ प्रधानमन्त्री कोइराला यदि साँच्चिकै आदर्शवान नेपाली नागरिक हो, मुलुक हाँक्ने नेता हो भने जतिसक्यो छिट्टो महङ्गी नियन्त्रण गर्न संयन्त्र बनाउन जरुरी छ । आदर्श खोक्रो भयो भने सजिलै गिर्न पनि बेर लाग्दैन । सफलता चुम्न तपस्या गर्नुपर्छ । बिगार्न क्षणभरको समय नै काफी छ । नेपाली जनतालाई राहत दिने विषयमा विलम्ब गर्नु भनेको आफ्नो खुट्टामा बञ्चरो हान्नु त हो नै कोइरालाको भविष्य निर्धारण पनि यस्तै गतिविधिबाट हुने स्पष्ट छ । कोइरालाको अग्नीपरीक्षा सुरु भइसकेको छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for "Decrease expenses not ideology "
Leave a reply