Running journalism with hurried literature

Posted by somdai a lunatic on Mar 5, 2014 | 0 comments


–सोमराज पोखरेल
-  टम ह्विकरले भनेका छन्– पत्रकारहरु धेरै कुरा जान्न चाहन्छन् तर प्रश्न गर्न अल्छी गर्छन् । -एड्लाई ई. स्टेभेन्सन दोस्रोले भनेका छन् –अखवार सम्पादकहरु त्यस्ता मानिस हुन् जसले गहुँबाट भुसलाई अलग गर्छन् अनि त्यही भुस मुद्रण गर्छन् ।
- राहिल फारुकले भनेका छन्– केटाकेटी र पत्रकार त्यही चाहन्छन् जुन वास्तवमा आवश्यक छैन ।
चौथो अङ्गको रुपमा परिभाषित संचारजगत् यतिबेला वास्तविक धारमा हिंड्न नसकेको आरोप लाग्दै आएको छ । जतिजति संचारमाध्यम फस्टाउँदै गएका छन् त्यतित्यति त्यो आरोप लाग्दा लोकतान्त्रिक पद्धति अपनाउने जुनसुकै मुलुकका लागि व्यङ्ग्यबाण हुनसक्छ । संचारजगत् जतिबढी फस्टाउन सक्यो त्यति नै बढी स्वतन्त्रता महसुस हुन्छ भनिन्छ । त्यतिमात्र होइन जति बढी स्वतन्त्रता महसुस गरिन्छ त्यति नै लोकतान्त्रिक भइन्छ । त्यति नै बढी पारदर्शी हुन सकिन्छ भनिन्छ ।
तर भनाई र गराईबीचको दूरीमा निकै भिन्नता आउने भएकाले पनि विश्व आक्रान्त छ । विश्वका ‘टाइकन’ मानिने ठूला प्रभावशाली राष्ट्रका संचारमाध्यमले आफू सुहाउँदो प्रोपोगण्डा मच्याउँदा विकासोन्मुख राष्ट्र मारमा छन् । त्यही स्थिति एसियातर्फ आउने हो भने भारतीय, चिनियाँ लगायत देशका संचारमाध्यमले केही द्धिविधाजनक सम्प्रेषण गरेको पाइन्छ ।
जब आफ्नै देशमा आउने हो भने आन्तरिक विवादका मामलामा संचारमाध्यम आपसमा बाझिएका उदाहरण पाउन सकिन्छ । समाचारमा त्यस्तो दम हुन्छ जुन चार हजार संगीन हतियार पनि तर्सन्छन् । समाचारको एक झोंकाले सरकार गिराउन सक्छ । त्यही झोंकाले युद्ध चर्काउन सक्छ । अनि शान्ति ल्याउन पनि त्यही समाचारको एक झोंका काफी छ । भनिन्छ नि जंगल सखाप पार्न सलाईको एउटा काँटी नै पर्याप्त छ । त्यस्तै हो समाचार पनि । यो सबै पत्रकारिताले गर्दा नै भएको हो ।
जसरी पत्रकारिता सशक्त छ त्यसरी नै यसको दुरुपयोग पनि भइरहेको छ । ‘हतारिएको साहित्य’ को संज्ञा दिंदै दौडिरहेको छ पत्रकारितकाको पाटो । रिर्पोटिङ्गका स–साना कर्ण नकेलाउँदा यसले गलत सन्देश दिएका उदाहरण प्रशस्तै छन् । गहिराइमा नपुगी सतहमै रहेर हतारमा दिइने सूचनाले दिने सन्देश खतरनाक हुन्छन् । त्यही खतरनाक सन्देश केलाउने फुर्सद मानौं यो २१ औ शताब्दीको व्यस्त संचार बजारमा छँदैछैन ।
जसरी समाचारको गहिराइमा पुग्न खोज्दा ढिलाई हुँदा सूचना अन्त चुहिन्छ कि भन्ने डर संचारकर्मीले पालेको हुन्छ त्यसरी नै फितलो रिपोर्टिङ्गको भय पनि संचारकर्मीले बुझ्नु जरुरी छ । जसरी कुनै चिज निर्माण गर्न लामो समय खर्चनु पर्छ त्यसलाई ध्वस्त पार्न निकै सजिलो छ । संचारजगत्ले संसार बनाउने काम गर्छ । नकि ध्वस्त पार्ने काम । तर नेपाली पत्रकारितालाई केलाउँदै जाने हो भने यस्तो दोधार फेला पर्छ जसले सत्य र असत्यबीचको फरक छुट्टाउन सर्वसाधारणलाई हम्मेहम्मे पर्छ । मतलब नेपाली पत्रकारिताको धार अझै स्पष्ट हुन सकेको छैन । ०४६ सालमा आएको प्रजातन्त्रले सीमित वर्गलाईमात्र फाइदा पुगेको अनुभव गर्न सकिन्छ ।
शिक्षा, विकास र आर्थिक क्रान्तिमा संचारको भूमिका महत्वपूर्ण हुन्छ । संचारले अधिकारका कुरा गर्छ । तर त्यही संचार हाँक्नेहरु र सघाउनेहरु कहिलेकाहीं अताल्लिँदा त्यसले कुरुप स्थिति सिर्जना गर्छ । जसरी मुलुकका तीन अङ्गले बाटो बिराउँदा चौथो अङ्गको रुपमा परिभाषित पत्रकारिताले झक्झक्याउने काम गर्छ त्यसैगरी चौथो अङ्गले बाटो बिरायो भने पनि अन्य अङ्गले झक्झक्याउने बेला आइसकेको छ । संचारमा अंकुश लगाउन मिल्दैन । तर गलत बाटोमा हिंड्नेलाई सही बाटोमा हिंड्न सुझाव दिन त सकिन्छ नि !
नेपालमा कुनै संचारमाध्यमले गल्ती ग¥यो भने अन्य माध्यमहरु मिलेर त्यसको खोइरो खन्ने चलन छ । त्यस्ता काममा ठूलै संचारमाध्यम पनि लागेकै हुन्छन् । यसो गर्दा यसको प्रत्यक्ष असर भनेको समग्र संचारजगत्लाई नै पर्दछ । व्यक्तिको पछि लागेर गरिने पत्रकारिता धेरै टिक्दैन । यस्तो आलोकाँचो पत्रकारिताको शैलीले गर्दा संचारमाध्यम बढ्दै गए पनि मुलुकमा अझै पत्रकारिताले व्यवसायीक रुप अंगाल्न सकेको छैन ।
संचारमाध्यम भावनामा चल्दैन । संवेदनामा चल्दैन । तर समाजकै एउटा अङ्ग भएकाले त्यसबाट टाढा भाग्न सक्दैन । समाजकै कुरा गर्छ । संचारमाध्यमले तिनै समाजका चरित्र उठाउँदा गहन अध्ययनमा कमी हुँदा नै धोका खाएको पाइन्छ । समाजमा अनुजा बानियाँ, रसेन्द्र भट्टराई, दिलशोभा श्रेष्ठ लगायतका थुप्रै पात्र छन् । कोही इमानदार हुँदाहुँदै बेइमान बनेका छन् । कोही नालायक भइकन पनि लायक बनी टोपली खाएका छन् । तर संचारकर्मीले त्यसमा गहिरो अध्ययन नगरिकनै संचारमाध्यममा पस्किएका खुराकले दुःख दिएको छ । भरोषा उड्दै गएको छ ।
दिलशोभा श्रेष्ठले समाजसेवा गर्दै आएकी छिन् । बालबालिकादेखि वृद्धवृद्धासम्म पालेकी छिन् । तर विवादमा फसेकी छिन् । कानुनी अड्चनमा परेकी छिन् । बाल यौन दूराचारमा फसेकी छिन् । प्रमाणित भने भइसकेको छैन । हो, काम गर्दै जाँदा आपत्विपत कसलाई पर्दैन । त्यसो भन्दैमा उनले आफ्नो नियमित काम छाड्नु हुँदैन । कानुनी कुरा उनलाई थाहा छैन भने थाहा पाउनु पर्छ । प्रशासन के हेरेर बसेको छ ? दिलशोभा पात्र बनेकी छिन् । उनका बारे पक्ष र विपक्षमा अहिले संचारमाध्यममा दोहोरी चलेको छ । संचारमा दोहोरी हैन यथार्थ सम्प्रषण गरिन्छ  । यथार्थ सुनाइन्छ ।
दिलशोभालाई राम्रो मानेर चर्चामा ल्याएकाहरु त्यही अडानमा छन् । उनको कर्ममाथि दाग लागेको लेख्नेहरु झन् सशक्त बन्दैछन् । अहिलेसम्म गहिराइमा रिपोर्टिङ्ग गरी दिलशोभाबारे फेहरिस्त उतार्ने प्रयास संचारमाध्यममा हुन सकेको छैन । न त प्रशासन नै तातेको छ । कसैले भनेका भरमा गरिने पत्रकारिताले दिएको दुःखद पक्ष नै यही हो । यहाँनेर एउटा गहन रिपोर्टिङ्ग गर्न थुप्रै लगानी गर्नुपर्छ । त्यसको व्यवस्था न त संचार मालिकले गरेका छन् न त संचारकर्मीले नै माग गर्न सकेको अवस्था छ । कम्तीमा जनशक्ति र त्यसमा लाग्ने खर्चको जोहो गरिदिने हो भने सायद यति ठूलो दुर्घटना हुने थिएन ।
त्यसो त संचारकर्मीको भूमिका समाजमा महत्वपूर्ण भएकैले उनीहरु समाजबाट सम्मान हुँदै आएका छन् । काम गर्नेले जश पाउन पनि पर्छ । तर कतै संचारकर्मीको ‘हाइफाइ’ कतै बढी हुँदै गएको त हैन भन्ने पनि लाग्न थालेको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पार्सद छानिँदासमेत बधाईका विज्ञापन आउनुले नै छर्लङ्ग पार्न थालेको छ । मोफसलमा केही प्रशासन प्रमुखहरु त संचारकर्मीसंग सुझाव लिएरै बजेट फर्छ्यौट गर्छन् भनिन्छ । पहिले पत्रकारलाई सन्तुष्ट दिलाएरमात्र नयाँ काम गरिन्छन् । ताकि विवादमा ल्याउने पत्रकारकै मुख बन्द गर्न सकियोस् । के यसरी नै चल्छ र पत्रकारिता ? सधैभरि  हतारिएको पत्रकारिता भन्दै गल्ती गर्दै जाने हो भने विश्वास घट्दै जानेछ । पत्रकारितालाई विश्वसनीय बनाउन अहिले जुटिएन भने कहिले जुट्ने त ?

0 comments for "Running journalism with hurried literature"

Leave a reply

Smiling child with mother

Somdai

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Popular Posts